काठमाडौं । साताको पहिलो कारोबारी दिन शेयर बजारमा दबाव देखिएको छ। नेप्से परिसूचक २१.४८ अंक घट्दै २६०९.६९ बिन्दुमा आएर रोकिएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सूचकहरू पनि क्रमशः २.७०, १.५७ र १.१४ अंकले कमजोर बनेका छन्।
अघिल्लो दिनको तुलनामा कारोबार मात्रा केही सुधारिएको छ। अघिल्लो कारोबारमा ५ अर्ब २३ करोड रुपैयाँ बराबरका शेयर किनबेच भएका थिए भने आज ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरका १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर ८९ हजारभन्दा बढी पटकको कारोबारमार्फत किनबेच भएका छन्।
आजको बजारमा ४६ कम्पनीको मूल्य वृद्धि भएको छ भने २०४ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रह्यो।
बजार गिरावटबीच पनि स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जी को शेयर १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा पुगे।
यता, धेरै स्टकहरूमा दबाब देखिएका बेला बंगाल हाइड्रो सबैभन्दा धेरै ८.५१ प्रतिशतले घट्दै ६०२ रुपैयाँमा बन्द भयो।
कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रुप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रो अग्रस्थानमा रहे।
उपसमूहगत सूचकको अवस्थाले पनि बजारको कमजोर धारणा देखाएको छ। १३ वटै उपसमूह आज रातो रहेको बजारमा सर्वाधिक दबाब जलविद्युत उपसमूहमा देखियो, जसको सूचक १.२२ प्रतिशतले ओरालो लाग्यो। वित्त, होटल–पर्यटन, लघुवित्त र व्यापार उपसमूह समेत १ प्रतिशतभन्दा बढीले घटेका छन्।