जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकता परिवर्तन हुन नसकेकै कारण जेन–जी आन्दोलनको आवश्यकता परेको टिप्पणी गरेका छन् ।
संविधान दिवस २०८२ को अवसरमा शुक्रबार गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिले प्रविधि र पद्धतिमा परिवर्तन आए पनि राज्य सञ्चालन गर्ने शैली पुरानै मानसिकतामा आधारित भएकाले नयाँ पुस्ता असन्तुष्ट बनेको बताए ।
“अहिलेको पिँढीले सहल र छिटो हुनेगरी काम चाहन्छ । तर सरकारी कार्यालयमा सामान्य काम गर्न पनि घण्टौं कुर्नुपर्ने, कतिपय अवस्थामा दिनौँ धाउनुपर्ने बाध्यता छ । यसले जेन–जी पुस्तामा आक्रोस पैदा गरेको छ,” मुख्यमन्त्री सिंहले भने ।
उनले नेतादेखि सरकारी कर्मचारीसम्म मानसिकता अपग्रेड हुन नसक्दा देश अझै पुरानै पद्धतिमा चलिरहेको टिप्पणी गरे । संविधान उत्कृष्ट भए पनि संविधानको दायरामा रहेर काम गर्नेहरुकै मानसिकता पुरानै भएको उनको गुनासो छ ।
“नयाँ पुस्ताले चाहेअनुसार काम गर्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि सबैले आफ्नो सोच बदल्न जरुरी छ,” मुख्यमन्त्री सिंहले बताए । उनले वर्तमान संविधानकै केही बुँदामा संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।