रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका केही भाग बगाएपछि अवरुद्ध सडक आजसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेका अनुसार बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको क्षेत्रमा अस्थायी डाइभर्सन निर्माणको अन्तिम चरणमा काम भइरहेको छ । “ठूला डाइभर्सनहरू तयार भइसकेका छन्, बाँकी स्थानमा पनि मर्मत जारी छ,” उनले बताए ।
उनका अनुसार सम्भवतः भोलि साँझसम्म, नभए पर्सी बिहानसम्म राजमार्गमा एकतर्फी सवारी सञ्चालन गर्न सकिनेछ ।
रोशी खोलाले सडकका विभिन्न स्थान बगाएपछि सडक दुवै तर्फबाट निर्माण कार्य अघि बढाइएको छ । खोलाको पानीलाई बगाएको स्थानबाट डाइभर्ट गरी क्षतिग्रस्त भाग पुरेर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ ।
यसरी निर्माण कार्य पूरा भएपछि काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्डमा सवारी आवागमन आंशिक रूपमा सहज हुने अपेक्षा गरिएको छ ।