काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा काँग्रेस मात्र नभई लोकतन्त्र र देश नै कमजोर हुने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा नेपाली काँग्रेस सोलुखुम्बुले आयोजना गरेको ‘नेपाली काँग्रेसभित्रको अपरिहार्यता– सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पार्टी महाधिवेशनलाई ढिला नगरी छिटो गर्नुपर्नेमा जोड दिए ।
डा. कोइरालाले भने, “नेपाली काँग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि देशमा भ्रष्टाचार र दण्डहीनता झन् बढेको आरोप लगाए । “प्रधानमन्त्रीज्यू भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर, तर दिनानुदिन भ्रष्टाचार बढेको छ । दण्डहीनता बढेको छ । सुशासन त नामै छैन । सिडियो वा मालपोत कार्यालयमा गएर हेर्दा सुशासनको हालत कस्तो छ भन्ने थाहा हुन्छ,” उनले भने ।
संसदभित्र ‘कुलिङ पिरियड’ हटाउने खेल एमालेबाट सुरु भएको समेत उनले आरोप लगाए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बलबहादुर केसी, सोलुखुम्बु उपसभापति घनराज सुनुवारलगायतले मन्तव्य राखेका थिए ।