काठमाडौं । आन्दोलनरत उखु किसानहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै शीर्ष नेताहरू मंगलबार माइतीघरमा पुगेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले किसानहरूको मागलाई जायज ठहर गर्दै सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले किसानले उठाएका मुद्दा कृषि क्षेत्रको समग्र सुधारसँग जोडिएको भन्दै राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, “समस्या उखु किसानको मात्र होइन, सिंगो कृषि क्षेत्रलाई अघि बढाउन राज्यले विशेष ध्यान दिनुपर्छ ।”
त्यसैगरी डा. भट्टराईले किसानहरूलाई निरन्तर बेवास्ता गर्दै आएकोमा असन्तोष व्यक्त गरे । उनले भने, “झण्डै दुई तिहाई जनसंख्या किसानहरूले पसिना बगाएर उत्पादन गरेको वस्तुमै समाज र सरकार चलेको छ । तर मान–सम्मान र उत्पादनको मूल्य नपाउने किसान आज पनि अपहेलित छन् । यो क्रान्ति, परिवर्तन र लोकतन्त्र होइन, ठुलो ठगी भइरहेको छ ।”
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले किसान सडकमा आउनुपर्ने बाध्यता सिर्जनामा दुःख व्यक्त गर्दै सरकारले छिटो कदम चाल्नुपर्ने बताए । उनले भने, “उहाँहरूको माग जायज छ । सरकारलाई ती माग तत्काल सम्बोधन गर्न आग्रह गर्दछु ।”
किसानहरूको प्रमुख माग
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि सुरु भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँका दरले बक्यौता भुक्तानी गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफलमार्फत गर्नुपर्ने माग किसानहरूको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुमा अनुदान विनियोजन नगरेको विषयलाई पनि उनीहरूले विरोध गरेका छन् ।