एमाले ११औँ महाधिवेशनः ओली–ईश्वर प्यानल प्रतिस्पर्धा

hitkhabar.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा अध्यष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेृत्वदेखि अयोगसम्मका सबै पदमा प्यानल प्रतिस्पर्धा हुने निश्चित भएको छ । भावी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलका बीचमा प्रतिस्पर्धा हुदैछ ।

१९ पदाधिकारी सहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ओली र पोखरेल दुबैले प्यानलसहित अगामी नेतृत्वका लागि मैदानमा उत्रिएका छन् ।

सोमबार उम्मेदवारी दर्ता भएको छ । आज (मंगलबार) मतदानबाट नेतृत्व चयन हुँदैछ । १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन हुदैछ । निर्वाचन आयोगका अध्यक्ष डा। बिजय सुब्बाले प्रारम्भिक नामावली अनुसार अध्यक्षमा ईश्वर पोखरेल र केपी शर्मा ओलीले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

अध्यक्षका प्रतिस्पर्धी ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल, पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । ओली समूहबाट उपाध्यक्ष प्रस्ताव गरिएका प्रदिप ज्ञवालीले उम्मेदवारी दर्ता नगरेपछि एक उपाध्यक्ष पद उनको समूहबाट खाली भएको छ ।

महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ, लेखराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, महेश बस्नेत र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।

ओली समूहबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा काशिनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेलले उम्मेदवारी दिएका छन् ।

पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीले उम्मेदवारी दिएका छन् । भीम आचार्यले स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीले उम्मेदवारी दिएका छन । सचिवमा कर्ण थापा, रचना खड्का, गोकुल बाँस्कोटा, बिनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरै, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । दुबै समूहबाट सचिवका लागि १८ जना उम्मेदवार हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको छ ।

असन्तुष्टले छाडे ओलीको साथ

११औँ महाधिवेशनको चुनावी कार्यक्रम चलिरहेकै बेला अध्यक्षका प्रतिस्पर्धी ओलीको साथ छोडने नेताहरु बढदै गएका छन् । विगतमा ओलीलाई दरो साथ, सहयोग गर्दै आएका नेताहरुले खोजे जस्तै र रोजेजस्तै पदमा उम्मेदवारी दिन नपाएपछि ओलीसंग असन्तुिष्ट व्यक्त गर्दै साथ छोडेका छन् ।

आलीको साथ छोडेपछि नेतृत्व चयनका लागि भईरहको महाधिवेशनमा अध्यक्षका अर्का प्रतिस्पर्धी पोखरेललाई भने फाइदा हुने देखिन्छ । ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका पोखरेल सुरुमा कमजोर जस्तो देखिए पनि यी नेताहरुले ओलीको साथ छोडपछि झनझन बलियो हुँदै जाँदा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

विगतमा ओली समूहमा रहेर पार्टी एवं राजकीय भुमिकामा महत्वपूर्ण जिम्मेवारी पाएका प्रदिप ज्ञवाली, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, अग्नि खरेल, लिला गिरी, कृष्ण राई, नवराज सिलवाल लगायतका नेताहरुले ओलीको साथ छोडेका छन् ।

पार्टीको १०औं महाधिवेशनका उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए । ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिइ ओली गुटको गुण्डु बैठकबाट रुदै बाहिरिए । ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए । ज्ञवाली ओलीका विश्वासपात्र नेता हुन् ।

ओली समूहको बैठकमा ज्ञवालीले एउटै व्यक्तिलाई दोहोर्याएर एउटै पदमा जिम्मेवारी दिने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका थिए । तर ओली आफै तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्दै गर्दा उनले तेहर्याएर हुनुहुदैन भन्ने कुरा गर्ने आटसम्म गरेनन् । आफूले विगत जस्तै रोजेकै र खोजेकै पदमा उम्मेदवारी दिन नपाउँदा ज्ञवाली ओलीबाट अन्तुष्ट भएका हुन् ।

‘म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता भए । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुनुपर्छ । एउटै व्यक्तिलाई दोहो¥याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ,’ ज्ञवालीले भनेका छन् ।

त्यस्तै, यसअघि आफ्नै क्याविनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छाडेका छन् । पदाधिकारीमा ओलीले नसमेटेपछि पन्तले पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकांक्षी रहेका गौतमले पनि स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ओलीलाई फुटबलको प्लेसँग तुलना गरेर चर्चामा आएका श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । श्रेष्ठले पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् ।

यसैगरी, यसअघि ओलीका विश्वास पात्र मानिएका बाँस्कोटा पनि ओलीबाट असन्तुष्ट छन् । यद्यपि बाँस्कोटाले केही समयअघिबाटै ओलीको साथ छाडेको संकेत गरिसकेका थिए । बाँस्कोटाले केही समय पहिलादेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्दै आएका थिए । बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गर्दैछन् ।

महाधिवेशनमा ओली समूहबाट अनुशासन आयोग उपाध्यक्षमा प्रस्तावित नेता गिरीले उक्त प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ‘मेरो नाम अनुशासन आयोगको उपाध्यक्षमा आएको देखेँ तर त्यसमा मेरो सहमति थिएन र छैन । म खुला क्षेत्रबाट केन्द्रीय कमिटीको उम्मेदवार हुँ,’ गिरीले भने । गिरी यसअघि पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री रहिसकेका छन् ।

पदाधिकारी आकांक्षीमा नयाँ अनुहार

एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने मध्ये ओली समूहबाट केही नयाँ अनुहारले पदाधिकारीमा उम्मेदवारी दिने अवसर पाएका छन् ।

ओली समूहले सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा।राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेतले उम्मेदवारी दिएका छन् । स्थायी कमिटी र पोलिटव्यूरो कमिटीमा रहेका यी नेता ओली समूहबाट पदाधिकारीमा उम्मेदवारी दिने नयाँ अनुहार हुन् ।

यसैगरी पोखरेल समूहबाट समेत केही नयाँ अनुहारका नेताले पदाधिकारी हुने अवसर पाएका छन् । विगतमा स्थायी कमिटी, पोलिटव्यूरोसहितका कमिटीमा रहेर काम गरे तर पदाधिकारीको हकमा यि नेता नयाँ हुन् ।

पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्की पदाधिकारीका लागि नयाँ हुन् । यसैगरी उपमहासचिवमा उम्मेदवारी दिएका आनन्द पोखरेल र बैजनाथ चौधरी सचिवमा उम्मेदवारी दिएका कर्ण थापा, गोकुल बाँस्कोटा, पुरुषोत्तम पौडेल, बिनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरै, इन्द्रलाल सापकोटा, रचना खड्का सहित नेता पदाधिकारीका लागि नयाँ अनुहार हुन् । पोखरेल समूहबाट पदाधिकारीमा अधिकांश उम्मेदवार नयाँ छन् ।

८० वटा विद्युतीय मेसिनबाट मतदान

एमालेमा नेतृत्व चयनका लागि ८० वटा विद्युतीय मेसिनको प्रयोग गरिदैछ । निर्वाचन आयोगका अध्यक्ष ड. विजय सुब्बाका अनुसार एक सय विद्युतीय मेसिन ल्याए पनि ८० वटा विद्युतीय मेसिनको प्रयोग गरिदैछ । यस अघि समेत १०आँै महाधिवेशनमा एमालेले नेतृत्व चयनका लागि विद्युतीय मेसिनको प्रयोग गरेको थियो ।

महाधिवेशनमा २२ सय ६३ प्रतिनिधि सहभागि छन् । एक प्रतिनिधि अर्थात एक मतदातालाई ३० देखी ४० मिनेटसम्म मतदान गर्न समय लाग्नेछ । सोमबार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको महाधिवेशनमा मंगलबार अपरान्ह १२ बजेदेखी बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

यस्तो छ शुल्क

एमाले ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टी निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारका लागि शुल्क निर्धारण गरेको छ । अध्यक्षका लागि प्रति उमेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।

केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन १० हजार रुपैयाँ र केन्द्रीय सदस्यको उम्मेदवार हुन पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ । केन्द्रीय आयोगले अध्यक्ष पदका उम्मेदवारका लागि १० हजार र पदाधिकारी तथा सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क तोकेको एमाले निर्वाचन आयोगका अध्यक्ष डा.बिजय सुब्बाले जनाएका छन् ।  यो खबर राजधानीबाट लिएका हौ । 

प्रतिक्रिया