सुशासन प्रवर्द्धनमा सरकार दृढ : प्रधानमन्त्री कार्की

hitkhabar.com


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले चुनावी प्रक्रियासँगै सुशासन प्रवर्द्धनलाई समान प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुभएको छ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनबाट अघि सारिएका जनअपेक्षालाई आधार मानेर सरकार तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार अपेक्षित सुधार तत्कालै हासिल नहोला तर भ्रष्टाचारविरुद्ध आवश्यक जति कडा कदम चाल्न सरकार तयार छ। यसका लागि राज्य संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री कार्कीले सुधारका प्रक्रियालाई धम्क्याउने वा अवरोध गर्न चाहने तत्वहरूबाट नअडिन सरकार प्रतिबद्ध रहेको भन्दै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकलाई पेशागत स्वतन्त्रताका साथ निडर भएर काम गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया