काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन पार्टीका लागि “महाभारत” र “अग्निपरीक्षा” भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेताकार्यकर्तालाई आह्वान गर्दै निर्वाचन तयारीमा गाउँगाउँ, टोलटोलसम्म जुट्न आग्रह गरेका छन् ।
राउतले पार्टीभित्र विभिन्न गतिविधि गराएर नेताकार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको दाबी गर्दै भने, “समयको अभाव भएको बेला अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर छलफल बहस गरेर समय खेर नफालौं ।”
उनले अहिलेको मुख्य प्राथमिकता निर्वाचनमा जनमत पार्टीलाई पहिलो विजयी दल बनाउनु पर्नेमा जोड दिएका छन् । उनका अनुसार निर्वाचन आयोग र सबै दलहरू तयारीमा जुटिसकेका अवस्थामा जनमत कार्यकर्ताले पनि समय खेर फाल्न नहुने बताएका छन् ।
राउतले भने, “हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तयारीमा जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं ।”
उनले मधेश कब्जा गरेर देशकै निर्णायक शक्ति बन्ने लक्ष्यका साथ निर्वाचनमा प्रस्तुत हुन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।