काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्वमा संरक्षक रेशम चौधरीका बुबा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।
बिहीबार राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट लालवीर अध्यक्षमा चयन भएका हुन् । उक्त भेलाले पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट लालवीरको अध्यक्ष चयन गरिएको हो ।
पार्टी संरक्षक रेशम चौधरीले पार्टी कमिटीको सल्लाह र सुझावको आधारमा निर्णय गरिएको बताए । उनले भने, "विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट थियौं । केन्द्रीय सदस्यहरुको प्रस्ताव अनुसार हामीले पत्रचार गरेर २४ घण्टाको समय दिएका थियौं । तर, उहाँ (रञ्जिता श्रेष्ठ) ले कुनै प्रतिक्रिया नदिई समय कटाउनु भयो। त्यसपछि पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरिएको हो ।"
नाउपाभित्रको आन्तरिक विवाद पछिल्लो समय चुलिँदै गएको छ । अध्यक्ष र संरक्षकबीचको दूरी बढ्दै जाँदा विवाद सार्वजनिक बनेको थियो। नयाँ नेतृत्व चयनसँगै पार्टीको नेतृत्वमा फेरबदल आएको छ ।