काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा बढाएको छ । अबदेखि बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न सक्ने भएका छन् । यसअघि दैनिक २० किलो मात्र सुन आयात गर्न पाइन्थ्यो ।
दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा बजारमा सुनको माग तीव्र रूपमा बढेपछि राष्ट्र बैंकले आयात सीमा वृद्धि गरेको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ ।
हाल सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । शुक्रबारको अवस्थाअनुसार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बनेसँगै माग थप बढेको बताइएको छ ।
यससँगै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमामा पनि सुधार गरेको छ । अबदेखि नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाख रुपैयाँसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्ने भएका छन् ।
राष्ट्र बैंकका अनुसार यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात अनिवार्य लिनुपर्नेछ । साथै, प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित निकायमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।