काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यमा फेरि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो। यससँगै सुनको मूल्य तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले उकालो लागेको थियो भने सोमबार थप ४ हजार १ सय रुपैयाँले बढेको थियो। लगातारको वृद्धिपछि मंगलबार पनि सुन महँगिएको हो।
उता, सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य कमी आएको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोही परिमाणको चाँदी ५ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो। यसरी हेर्दा चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेको छ।
10 Feb 2026