बाचाबिनै मैदानमा दल, घोषणापत्र न कमान्डर

hitkhabar.com


काठमाडौं । आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्र र कमान्डरबिनै चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा विजयी भएपछि सरकार बनाउने दलले आगामी दिनमा के गर्ने भन्ने कुनै प्रतिबद्धताबिना नै मतदातासँग मत मागिरहेका छन् ।

मौखिक रूपमा ‘यो गर्छ ‘, त्यो गर्छ ‘’ भन्दै मतदाता रिझाउँदै गरेका उम्मेदवारले भेटघाट, घरदैलो गरिरहेका छन् । प्रमुख राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीको निर्णय गरेपनि निर्वाचनपछि के गर्ने रु भन्ने घोषणापत्र बनाइरहेको जनाएका छन् । विभिन्न दलले पार्टीको बैठकबाटै घोषणापत्र निर्माणका लागि कमिटी गठन गरेका छन् ।

सोहीअनुसार उनीहरूले घोषणापत्र लेखनको अन्तिम तयारीमा रहेको र छिट्टै नै सार्वजनिक गर्ने जनाएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित साना दल घोषणापत्र लेखनको आन्तरिक तयारीमा जुटेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् । अन्य ठूलादेखि साना दल भने घोषणापत्र लेखनमै व्यस्त छन् । कांग्रेसले सभापति गगनकुमार थापाको अध्यक्षतामा समिति गठन गरेर घोषणापत्र तयारी गरिरहेको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र तयारीका लागि देशभरका नेता कार्यकर्ता र शुभेच्छुकहरूबाट सुझाव संकलन गरेर छिट्टै पार्टीले काठमाडौंमा सार्वजनिक गरिने जनाएका छन् ।

‘हाम्रो घोषणापत्रमा जेनजी आन्दोलनमा उठेका सुशासन, सहज सेवाप्रवाहलगायत माग समावेश गरिने छ,’ प्रवक्ता चालिसेले भने, ‘एउटा मुख्य घोषणापत्र हुन्छ, बाँकी पार्टीका उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रमा गर्ने काम र योजनाअनुसार छुट्टै घोषणा पत्र बनाउनुहुन्छ ।’ घोषणापत्रमार्फत राजनीतिक दलले विकास निर्माण सुशासनलगायतका राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्छन् भने जिल्ला र निर्वाचन क्षेत्र तहमा स्थानीय आवश्यकता र महत्वका आधारमा उम्मेदवार स्वयंले प्रतिबद्धता जनाउने अभ्यास विगतदेखिको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ । एमाले नेता मीनबहादुर शाहीले घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सार्वजनिक गर्ने बताए । वर्तमान अवस्थामा मुलुक बनाउने विषय नै घोषणापत्रको प्राथमिकतामा हुने उनले बताए ।

साथै जनजीविकाको सवाल, आर्थिक पुनरुत्थान, राष्ट्रिय स्वाभिमान र समावेशी विकासका विषय घोषणापत्रमा समेटिने गरी एमाले अगाडि बढेको उनले बताए । नेकपाले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र लेखन कमिटी गठन गरेको छ । नेकपाका नेता अग्निप्रसाद सापकोटाले चुनावी घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।

काठमाडौंमा एक भव्य कार्यक्रमसहित घोषणापत्र सार्वजनिक गर्ने तयारी नेकपाको रहेको उनले बताए । ‘पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनको समीक्षा र रूपान्तरणका विषयवस्तु घोषणापत्रमा समेटिनेछ ।

वस्तुवादी, यथार्थपरक विकास निर्माणका प्रतिबद्धता तथा राजनीतिक र संरचनागत रूपान्तरणका विषयलाई प्राथमिकता दिइनेछ । घोषणापत्रमार्फत् विचार र राजनीतिक सिद्धान्तका विषयमा गम्भीर छलफल र बहसको प्रारम्भ हुनेछ,’ सापकोटाले भने ।

यसैगरी, रास्वपाले उपसभापति डा।स्वर्णिम वाग्लेको नेतृत्वमा गठित कार्यदलमार्फत घोषणापत्र लेखनको काम गरिरहेको छ । यसै साता घोषणापत्र सार्वजनिक गरिने रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् । रास्वपाले उठाउँदै आएको र मुलुकको बदलिँदो परिस्थितिमा रूपान्तरणका विषयवस्तु समेटेर घोषणापत्र तयारी भइरहेको उनले जनाएका छन् । ‘घोषणापत्रमा राष्ट्रिय मुद्दाका साथै कृषि, पर्यटन, रोजगारलगायतका विषयवस्तु समेटिने छन्,’ प्रवक्ता झाले भने ।

राप्रपाले पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा चुनावी घोषणापत्र लेखन कमिटी गठन गरेर लेखन कार्य गरिरहेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार चुनावी घोषणापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको र यसै साता सार्वजनिक गरिनेछ ।

‘घोषणापत्रमा राप्रपाले निरन्तर रूपमा उठाउँदै आएको पूर्ण समानुपातिक निर्वाचन, २०४६ सालपछि उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति सार्वजनिकलगायत सामाजिक आर्थिक रूपान्तरणका विषयवस्तु अघि सारिने छ,’ प्रवक्ता श्रेष्ठले भने । प्रजातन्त्र पुनःस्थापनापछि मुलुकमा भएका संसदीय निर्वाचनअघि सार्वजनिक घोषणापत्रलाई शासनसत्तामा पुगेका राजनीतिक दलले नै प्राथमिकता नदिएको जनगुनासो छ ।

घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्वयन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ । यद्यपि, साक्षर मतदाताले मत दिँदा घोषणापत्रमा उल्लेख भएका विषयवस्तु हेर्ने, तुलना गर्ने र विश्लेषणका आधारमा मत दिने गरेको देखिन्छ । प्रायः दलहरूले घोषणापत्र आन्तरिक रूपमा तयारी गरिसकेको भए पनि प्रतिस्पर्धी अन्य दलका घोषणा सार्वजनिक भएपछि अध्ययन गरी त्यसका आधारमा अन्तिम रूप दिने सोचमा रहेका देखिन्छन् ।

प्रतिनिधिसभाका लागि १ सय ६५ वटा निर्वाचन क्षेत्रमा हुने मतदानमा विभिन्न ६८ दलबाट ३ हजार ४ सय ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका क्रममा १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ । यो खबर राजधानीबाट लिएका हौ ।

प्रतिक्रिया