८० प्रतिशत युवाले बिना जागिर महिनामा दुई लाख कमाउँदै : शिक्षामन्त्री पन्त

hitkhabar.com


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँका ८० प्रतिशत युवाले कुनै जागिर नखाई घरमै बसेर महिनामा दुई लाखभन्दा बढी आम्दानी गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ महानगरपालिका–१५ वडा कमिटीद्वारा आयोजित एसईई पास विद्यार्थी सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिलेका युवाहरूले घरबाटै विदेशी कम्पनीहरूसँग काम गरेर मनग्य आम्दानी गरिरहेको बताएका हुन् ।

उनले भने, “काठमाडौँका ८० प्रतिशत युवाहरू जागिर गर्दैनन्, तर उनीहरूले विदेशका कम्पनीसँग घरबाटै काम गरेर महिनाको दुई लाखभन्दा बढी कमाइरहेका छन् । यस्तो खालको रोजगारीबाट नेपालमा बार्षिक एक खर्ब रुपैयाँभन्दा बढी भित्रिरहेको छ। यदि यसलाई अझ प्रवर्द्धन गर्न सकियो भने आठ खर्बसम्म आम्दानी गर्न सकिन्छ ।”

पूर्वपरम्परागत सोचबाट बाहिर निस्कनुपर्ने उल्लेख गर्दै उनले हिजोको जस्तो डाक्टर वा इन्जिनियर बन्नु पर्छ भन्ने सोच अब सान्दर्भिक नरहेको बताए । “अब नयाँ क्षेत्रमा रोजगारी सिर्जना भइरहेको छ। त्यसलाई सदुपयोग गर्न सके, युवाले राम्रै कमाइ गर्न सक्छन्,” उनले भने ।

शिक्षा क्षेत्रसँगै आमाबाबुलाई पनि सन्तानको रुचिअनुसार मार्गनिर्देशन दिनुपर्ने उनको भनाइ छ । “बच्चाले के गर्न चाहन्छ भन्ने बुझेर साथ दिनुपर्छ, दबाब होइन सहकार्य आवश्यक छ,” मन्त्री पन्तले जोड दिए ।

उनका अनुसार डिजिटल प्लेटफर्ममार्फत फ्रीलान्सिङ, रिमोट वर्क, अनलाइन सेवा तथा प्रविधिसम्बन्धी कामहरूमा युवाको आकर्षण बढ्दो छ। उनले सरकारले पनि यस्ता सीप विकासमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया