काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, “सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ।”
प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहल नगरी दर्ताको नाममा प्रतिबन्ध लगाउने गैरजिम्मेवार रवैया देखाएको आरोप लगाइएको छ ।
“सरकारको यस कदमले नागरिकलाई सूचनाको हकबाट बञ्चित गर्नुका साथै अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस सेन्टर नेपालले सरकारको निर्णयलाई निरङ्कुशता र पश्चगामी प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गर्दै तत्काल प्रतिबन्ध फिर्ता लिन माग गरेको छ । साथै, सामाजिक सञ्जाल दर्ताका लागि आवश्यक कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।
सेन्टरले सामाजिक सञ्जाल लाखौं नेपालीको रोजगारी, व्यवसाय र जीवनयापनसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै यस्ता प्लेटफर्म निष्क्रिय पार्ने निर्णय गम्भीर गल्ती भएको जनाएको छ ।