तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन् : मन्त्री सिन्हा

hitkhabar.com


काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनील कुमार सिन्हाले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता निर्वाचनलाई दिइने स्पष्ट पारे। उनले भने, “चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ, तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने त्यसमा कुनै सम्झौता हुँदैन।”

मन्त्री सिन्हाले आवश्यक कानुनी संशोधन र तयारीका लागि अध्यादेशमार्फत भए पनि कानुन परिमार्जन गरेर निर्वाचन सम्पन्न गर्नेतर्फ अघि बढ्ने बताए। उनका अनुसार केही कानुनी विषयहरू तत्काल संशोधन गर्नुपर्ने र केही कानुन परिमार्जन गर्नुपर्ने अवस्था देखिएको छ।

उनले थपे, “कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको चुनावी सरकार नै हो। आवश्यक परे अध्यादेशमार्फत कानुन परिवर्तन गरेर भए पनि चुनाव सम्पन्न गराउनेतर्फ लाग्छु।”

यसअघि सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया