काठमाडौं । महिला सरकारी वकीलहरूको सशक्तीकरण र फौजदारी न्याय प्रणालीको सुदृढीकरणका उद्देश्यसहित पहिलो पटक महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा हुने सम्मेलन भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा सुरु हुने कार्यक्रम छ ।
देशभरका महिला सरकारी वकीलहरू सहभागी हुने उक्त सम्मेलनमा हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जनामध्ये १४८ जना महिला वकीलहरू सहभागी हुनेछन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता रहेका छन् ।
सम्मेलनमा महिला वकीलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित पाँचवटा कार्यपत्र प्रस्तुत गरिने भएको छ । साथै, सरकारी वकीलहरूको पेशागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिने र समापन समारोहमा घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहनेछिन् । त्यस्तै, सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, राष्ट्रिय महिला आयोग, नेपाल न्याय सेवा, नेपाल बार एसोसिएसनसहित विभिन्न अदालतमा कार्यरत महिला न्यायाधीशहरूको समेत सहभागिता रहनेछ ।
यस्तै, समापन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश धारणा सुवेदी प्रमुख अतिथि रहने कार्यक्रम तय भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले यो सम्मेलनलाई महिला सरकारी वकीलहरूको आवाजलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ ।