काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार साँझ बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडा निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गर्न प्रस्ताव गरेका थिए भने नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
प्रस्ताव समर्थन गर्दै बर्तौलाले भने, “संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त रहेको सभापतिको पदमा निर्वाचन तालिका अनुसार नयाँ सभापति चयनको प्रक्रिया अगाडि बढेको छ । प्रक्रिया अनुसार मनोनयन सम्पन्न भएको छ । म रामहरि खतिवडालाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दछु ।”
यसअघि निजामती सेवा सम्बन्धी विधेयकमा रहेको ‘कुलिङ पिरियड’ प्रावधानमा छेडखानी भएको भन्दै खतिवडाले राज्य व्यवस्था समिति सभापतिको पदबाट राजीनामा दिएका थिए ।