काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमा भेटेका छन् ।
बिहीबार भट्टराई भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।
भेटपछिको सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष भट्टराईले रवि लामिछानेमाथि अन्तिम फैसला नभइसकेको अवस्थामा न्यायिक हिरासतमा राख्नुको औचित्यमाथि प्रश्न उठाए । उनले भने, “उहाँ त जनताको प्रतिनिधि हो । भागेर सुख पाउने स्थिति छैन भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर राखी मुद्दा फेस गर्न दिनुपर्ने हो ।”
उनको भनाइमा, कुनै पनि प्रतिनिधिलाई हिरासतमा राख्दा त्यसको प्रत्यक्ष असर आम जनतामा पर्ने भएकाले यस्तो अवस्थामा संवेदनशील हुनुपर्ने आवश्यकता छ ।
“जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ,” उनले स्पष्ट रूपमा बताए ।
भैरहवास्थित जिल्ला कारागारमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने केही समयदेखि न्यायिक हिरासतमा रहेका छन् ।