काठमाडौं । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागबमोजिम महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको माहोल बलियो बन्दै गएको छ । पार्टीको आधिकारिक निर्णयले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्षसहित प्रतिनिधिलाई सहभागी नहुन ह्वीप जारी गरे पनि त्यसको उल्लेख्य प्रभाव देखिएन ।
केही दिनअघिसम्म विशेष महाधिवेशनभन्दा समयमै नियमित महाधिवेशनको पक्षमा उभिएका धेरै नेताहरू नियमित महाधिवेशन सारिएसँगै विशेषकै भेलामा मिसिएका छन् । शुक्रबार संस्थापनइतर समूहका नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले विशेष महाधिवेशनस्थलको अवलोकन गरेर विशेषकै पक्षमा उभिएको सन्देश दिएका छन् । सोही क्रममा महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताउँदै थप ५ सय प्रतिनिधि बढ्ने दाबी गरे । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ५४ प्रतिशतमध्ये २४ जनाले नाम फिर्ता लिएको र करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थप हुँदै छन् ।’
विशेष महाधिवेशनको पक्षमा कोशी प्रदेशबाट ४ सय ६९, मधेश प्रदेशबाट ४ सय १९, बागमती ४ सय १९, गण्डकी २ सय ५९, लुम्बीनी ३ सय ८५, सुदूरपश्चिम १ सय ४०, कर्णाली १ सय ३७ र शुभेच्छुक, भ्रातृ तथा विदेश सम्पर्क समितिबाट १ सय ८७ गरी २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको तयारी भएपछि कोशी, मधेश, बागमती प्रदेशबाट प्रतिनिधि बढ्ने क्रममा रहेका छन् । यही बीचमा देशभरका ३८ जिल्ला सभापतिले समेत विशेष महाधिवेशनको पक्षमा लिखित आह्वान गरेका छन् । बाँकी कतिपय जिल्लामा उपसभापति र सचिवहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको आह्वान गरेका छन् । संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यहरूले समेत विशेष महाधिवेशन विधिसम्मत भएकाले पार्टीले यसलाई ग्रहण गर्नुपर्ने नेतृत्वमाथि दबाब बढाएका छन् । नेताहरूले विशेष महाधिवेशनविरुद्ध लाग्नेभन्दा पनि यसलाई स्वीकार गरेर समस्या समाधानका नयाँ कोणबाट छलफल गर्नुपर्ने डा. डिला संग्रौलाले बताइन् ।
संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विवाद समाधान गर्न सुझाएका छन् । उनले विशेष महाधिवेशनको भेला स्विकार्दै पार्टीको आधिकारिक सहभागितामा संकल्प महाधिवेशनका रूपमा लैजान सकिने मध्यमार्गी बाटो खोज्न देउवालाई दबाब दिँदै आएको उनको सचिवालयले जनाएको छ । सभापति देउवाले समेत पार्टीलाई विभाजन हुन नदिन प्रयत्न गर्ने जनाएका छन् ।
विशेष पक्ष र विशेष रोक्ने पक्षका नेताबीच आवश्यक संवादलाई निरन्तर जारी राखेको नेता प्रदीप पौडेलको भनाइ छ । तर केही नेताहरू अझै मिलाउने पक्ष नदेखिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । ‘विधानले दिएको विशेष महाधिवेशन रोक्नका लागि आवधिक महाधिवेशन गर्नुपथ्र्यो,’ उनले मध्यान्हसँग भने, ‘समयमा नियमित महाधिवेशन नभएपछि ५४ प्रतिशत प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशनलाई पार्टीले ग्रहण गर्नुपर्नेमा त्यसो हुन सकेन । अब विशेष महाधिवेशनको विकल्प रहेन ।’ अझै पार्टी समस्या समाधानका उपाय हुन सक्ने भए पनि केही नेताहरूका कारण विवाद निरुपण हुन नदिइएको उनले बताए । ‘केही नेताहरू अझै जिम्मेवार रूपमा प्रस्तुत हुनुभएको छैन,’ उनले भने ।
संस्थापन पक्षका शीर्ष नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै तल्लो तहका नेता कार्यकर्तालाई तारन्तार फोन गरेर विशेष महाधिवेशमा सहभागी नहुन आह्वान गरिरहेका छन् । विशेष महाधिवेशन गर्ने र रोक्नेबीचको दूरी बढ्दै गए पनि शीर्ष तहमा समन्वयत्मक छलफल जारी छ । तर पूर्वपदाधिकारीहरूले विशेष महाधिवेशनमा जति सक्दो प्रतिनिधि रोकेर बहुमत पु¥याउन नदिने पक्षमा छन् । यद्यपि उनीहरूको केही नचल्ने अवस्था सिर्जना हुँदै गएको विशेष पक्षका नेताहरूले दाबी गरेका छन् । विशेष महाधिवेशन पक्षमा देशभरबाट महाधिवेशन प्रतिनिधि संख्या बढ्ने क्रममा रहेको विशेष महाधिवेशन पक्षका नेता सुवास पोखरेलले बताए । ‘शीर्ष नेताहरूले विशेष महाधिवेशनबाट पार्टी फुट्छ भन्ने हल्ला चलाएर प्रतिनिधिलाई रोक्ने अनेकन प्रयास गर्दा पनि उहाँहरू असफल हुनुभएको छ । विशेषका पक्षमा माहोल व्यापक बन्दै गएको छ ।’
पार्टी सभापति शेरबहादुर देउवा र उनको पक्षका नेताहरूले विशेष महाधिवेशनको मागलाई कुनै एजेन्डा नै नबनाएपछि महामन्त्रीहरूले विशेषका पक्षमा बलियोसँग उभिएका छन् । १५औं आवधिक महाधिवेशन गर्न पार्टीले वैशाख २७–३० सम्मको कार्यतालिका सार्वजनिक गरेको छ । तर असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका नेताहरूले सो निर्णयलाई अस्वीकार गरेका छन् । नेपाली कांग्रेसभित्र २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेका प्रतिनिधिलाई पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।
विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैं विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् । पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो ।
विशेष महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । मञ्च व्यवस्थापनको काम धमाधम भइरहेको छ । आयोजकले देशभरका महाधिवेशन प्रतिनिधिको तथ्यांक संकलन र व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, मिडिया सेन्टर व्यवस्थापन, सांस्कृतिक कार्यक्रमदेखि प्रतिनिधि सहभागीको रुटसमेत तय गरिसकेको छ ।
कार्यसम्पादन समितिको अपिल नसुनेर महामन्त्री थापा–शर्मासहित विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको तयारी तीव्र बनाएपछि संस्थापनका तर्फबाट शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर उक्त पत्रकार सम्मेलनमा नेता शेखर कोइराला नजाने भएपछि पत्रकार सम्मेलन स्थगित गरेर कार्यवाहक सभापति खड्का सहमति खोज्ने प्रयासमा रहेको उनीनिकट नेताहरूले बताएका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।