काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको कारोबार मूल्य २ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ, जुन चाँदीकै हालसम्मको उच्च मूल्य हो।
सोमबार भने चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अमेरिकी डलरको उतारचढाव तथा विश्व बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।
13 Jan 2026