काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि परिवर्तनप्रेमी, लोकतन्त्रवादी तथा गणतन्त्रवादी सबै शक्तिबीच दह्रो एकताको आवश्यकता औंल्याएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएको उल्लेख गरे । संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको उनको भनाइ छ ।
प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा थप परिमार्जन र विस्तार मागेको टिप्पणी गरेका छन् । साथै, उनले अहिलेको सबभन्दा ठूलो प्राथमिकता देशव्यापी पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
“जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीविरुद्ध र उन्नत लोकतन्त्रको पक्षधर हो,” उनले भने । तर, भदौ २३ र २४ का आन्दोलनलाई एउटै कोणबाट हेर्न नसकिने उनको भनाइ छ ।
उनले भदौ २३ को आन्दोलनलाई ‘वास्तविक जेनजी आन्दोलन’को संज्ञा दिँदै त्यसले मुलुकलाई नयाँ राजनीतिक दिशातर्फ डोरेको धारणा राखेका छन् ।