अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने, आज राति ९ बजे शपथ

hitkhabar.com


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई नियुक्त गरी शपथ गराउने तयारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार कार्कीको शपथग्रहण कार्यक्रम आज राति ९ बजे शीतलनिवासमा हुने भएको हो। यसअघि कार्कीसहित जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतलनिवास पुगेका थिए।

यद्यपि संसद् विघटनको प्रश्नमा भने पूर्ण सहमति जुट्न बाँकी रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता किरण पोखरेलले जानकारी दिए। उनका अनुसार यसबारे औपचारिक घोषणा शपथपछि हुने छ।

स्रोतका अनुसार जेनजी अभियन्ताको दबाब र सुरक्षासम्बन्धी चेतावनीपछि राष्ट्रपति पौडेलले संसद् विघटनबारे आफ्नो अडान परिवर्तन गरेका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर बढ्दो आन्दोलनको दबाबका कारण मंगलबार राजीनामा दिएका थिए। राजीनामा तत्कालै राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।


प्रतिक्रिया