काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई चेतावनीसहित मल आपूर्ति चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कृषि मन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र दुवै कम्पनीका वरिष्ठ कर्मचारीलाई बोलाउँदै प्रधानमन्त्री ओलीले किसानको गुनासो तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले भने, “किसानले किन ‘मल पाएनौं’ भनिरहेका छन्? यो गुनासो तत्काल सम्बोधन होस्। तपाईंहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर गाली भने नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहिन्छ यहाँ।”
उनले किसानको समस्या समाधानमा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी दिँदै तीन दिनभित्र ठोस योजना ल्याउन निर्देशन दिए।
प्रधानमन्त्री ओलीका अनुसार, नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन। उनले भने, “तपाईंहरूको संस्था चुप लागेर बसेको छ, जिम्मेवारी पूरा नगर्ने निकायकै कारण काम गर्नेले गाली पाउँछन्, विरोध गर्नेको वाहवाही हुन्छ।”
बुधबार सामाजिक सञ्जालमार्फत पनि प्रधानमन्त्री ओलीले सरकारी निकायको जवाफदेहिता आवश्यक रहेको पुनः स्मरण गराए। उनले लेखे, “हरेक सरकारी निकायले आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ।”
ओलीका अनुसार, आफू प्रधानमन्त्री बनेको पहिलो दिनमै मल आपूर्ति अभाव हुन नदिन निर्देशन दिइएको थियो, तर त्यसअनुसार कार्यान्वयन हुन नसकेको हो।