काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं–२०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई “असत्यमाथि सत्यको विजयको पर्व” का रूपमा लिइँदै आएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, “दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ ।”
राष्ट्रपतिले दशैंले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्ने कार्यमा योगदान पुर्याउँदै आएको बताए । साथै, मान्यजनप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने परम्पराले दशैंको महत्त्व अझ बढाएको उल्लेख गरे ।
निर्वाचन र सहकार्यमा जोड
राजनीतिक स्थायित्वतर्फ संकेत गर्दै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारलाई निरन्तरता दिन सबै पक्ष संयमित भई आवश्यक सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी, संस्थागत तथा निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिको उचित व्यवस्थापन गर्न आवश्यक ध्यान दिनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
समृद्धिको कामना
राष्ट्रपति पौडेलले वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त होस् भन्ने कामना गर्दै समग्र राष्ट्रको कल्याणका लागि देवी दुर्गाले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।
उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै सबै नेपालीलाई आपसी एकता, न्याय र समानतासहित आर्थिक समृद्धितर्फ अग्रसर हुन आह्वान गरेका छन् ।