काठमाडौं उपत्यकामा नागरिकता परित्याग गर्नेहरू बढे

hitkhabar.com


काठमाडौं । अध्ययन वा रोजगारीका क्रममा विभिन्न देशमा गएका नेपालीहरू देश फर्कनुभन्दा उतै स्थायी बसोबास अनुमति तथा नागरिकता लिनेक्रम बढ्दो क्रममा छ । सम्बन्धित देशको नागरिकतासम्बन्धी कानुनअनुसार दोहोरो नागरिकता लिन नपाइने भएपछि नागरिकता त्याग्नेहरूको संख्या बढेको छ ।

केही दिनअघि जनसांख्यिक असन्तुलनको अवस्था आउने खतरालाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै ३० वर्षसम्ममा तीन सन्तान जन्माउन सुझाव दिएसँगै नेपालमा अन्तरदेशीय स्थानान्तरणले जनसांख्यिक असन्तुलन बढेको पुष्टि गरेको पाइएको छ ।

देशको राजधानी रहेको काठमाडौं उपत्यकामा नागरिकता त्याग्नेहरू बढेका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नागरिकता त्याग्नेहरूको अभिलेख राख्न शाखा नै व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको हो ।

काठमाडौं जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा मात्रै ८ सय ५४ जनाले नागरिकता परित्याग गरे । नागरिकता परित्याग गर्नेको चाप बढेपछि त्यसका लागि अभिलेख र शाखा नै व्यवस्थापन गर्नुपर्ने अवस्था आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अशोककुमार भण्डारी बताउँछन् । आव २०८०–०८१ मा १ हजार ३४ जनाले नागरिकता परित्याग गरेको सहायक प्रजिअ तथा सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

उपत्यकाको अर्को जिल्ला ललितपुरमा पनि नागरिकता परित्याग गर्नेहरूको संख्या बढ्दो छ । आव २०७९–०८० मा १४ जनाले मात्रै नागरिकता परित्याग गरेकामा आव २०८०–०८१ मा यो संख्या १५ गुणाले बढी २ सय १३ जनामा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले बताइन् । यसैगरी, आव २०८१–०८२ मा पनि नागरिकता त्याग गर्नेको संख्या २ सय १७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछिन् ।

अन्तर्राष्ट्रिय आप्रवासन नीतिको प्रभाव

पछिल्ला दिनमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड, आयरल्यान्डजस्ता देशको आप्रवासन नीतिमा भएको फेरबदलले नागरिकता त्याग्नेहरू बढेको हुनसक्ने ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे बताउँछिन् ।

अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीति परिवर्तन गरेपछि अमेरिकाको नागरिक भइसकेकाहरूले नेपाली नागरिकता त्याग्ने चाप बढेको हुनसक्ने घिमिरेले बताइन् ।

नागरिकता त्याग गर्ने व्यवस्था भएदेखि भक्तपुर जिल्लामा १ सय ३८ जनाले नागरिकता त्याग गरेका छन् । आव २०८१–०८२ मा नागरिकता त्याग गर्नेहरू ८३ जना रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले जानकारी दिए ।

अन्य मुलुकको नागरिकता लिइसकेका व्यक्तिले नेपाल आएर सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा निवेदन दिने भएकाले सबै जिल्लाको नागरिकता परित्यागको तथ्यांक मन्त्रालयमा तत्कालै उपलब्ध हुने प्रणाली नभएको गृह मन्त्रालयका सूचना अधिकारीले बताए । ‘हामीसँग अहिले तत्काल अद्यावधिक छैन, तपाईंहरूलाई आवश्यक भए सूचना मागको निवेदन दिनूस्, मगाएर उपलब्ध गराऔंला, अहिले हामीसँग यो डाटा तत्काल छैन,’ सूचना अधिकारी रवीन्द्र अधिकारीले भने ।

विदेशको नागरिकता लिन नेपाली नागरिकता त्याग गरेको प्रमाण आवश्यक हुने भएपछि नेपालीहरूले नागरिकता परित्याग गर्छन् । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि आप्रवासन नीतिमा हेरफेर गरी दोहोरो नागरिकतामा कडाइ गरेपछि धेरै नेपालीले नागरिकता त्याग गरिरहेका छन् ।

यस्तै क्यानडा, बेलायत, अस्ट्रेलिया, आयरल्यान्डजस्ता देशले पनि आफ्नो देशको कानुनलाई मात्रै नभइ सम्बन्धित नागरिकका देशको कानुनको पनि अध्ययन गरेर नागरिकता दिन थालेका छन् ।

कानुन के भन्छ ?

नेपाल नागरिकता नियमावली २०६३, उपनियम ९१ मा ‘कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्नेछ’ भन्ने उल्लेख छ ।

विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्ने र उपनियम ९२ बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ ।

उपनियम ९१ बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची–१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरेको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुने व्यवस्था रहेको छ । यो खबर राजधानीबाट लिएका हौ । 

प्रतिक्रिया