नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई डा. अमरेशकुमार सिंहद्वारा बधाई

hitkhabar.com


काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिँदै देश अहिले अभूतपूर्व संकटमा रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले जेन–जि पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशातर्फ धकेलिरहेको उल्लेख गरेका छन्। उनका अनुसार परिवर्तनका लागि सडकमा उत्रिएका सयौं युवाको बलिदान व्यर्थ जानु हुँदैन।

“देशका संरचना भत्किए, सयौं कार्यालय र गाडी खरानी बने, प्रहरी चौकी जले, अदालत नष्ट भयो, अपराधी भागे—तर यो केवल विनाशको कथा होइन, नयाँ सुरुवातको संकेत हो,” सिंहले लेखेका छन्।

उनले तीन दिनदेखि देश अन्यौलतामा डुबिरहेको र आफूलाई पनि निद्रा हराएको जनाएका छन्। तथापि, निराश भएर बस्ने समय नभएको उनको भनाइ छ। “इतिहासले सिकाउँछ—विनाशपछि पुनर्निर्माण सम्भव हुन्छ। आज खरानीमाथिबाट नयाँ नेपालको बीउ उम्रन सक्छ,” उनले भनेका छन्।

सिंहले अब युवाहरूले नै आफ्नो पसिना, ज्ञान र सिर्जनशीलताबाट देश पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार यो केवल जेन–जि पुस्ताको आन्दोलन मात्र नभई सम्पूर्ण नेपालीको साझा लडाइँ हो।

“न्यायलाई लक्ष्य बनाएर, युवाको बलिदानलाई प्रेरणा बनाएर—अब खरानीबाटै नयाँ नेपालको निर्माण गरिन्छ,” सिंहले उल्लेख गर्दै नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन्।



प्रतिक्रिया