काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले हालका मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्नुपर्ने बताएका छन् । उनले हालै सम्पन्न ‘जेन जी’ आन्दोलनले उठाएको मागलाई सम्बोधन गर्दै अहिलेको नेतृत्वलाई विदा दिने मात्र नभई आजसम्म सार्वजनिक पदमा रहेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुषालले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने पनि स्पष्ट पारे । उनले भने, “जेन जी आन्दोलनले समेत उठाएको प्रमुख माग भनेकै अहिलेका मुख्य नेताहरुलाई छिटो विदा दिनु हो । यसले दलभित्र र समाजमा नयाँ आशा र विश्वास पैदा गर्छ, संविधान जारी भएयता भएको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ र सम्पत्ति छानबिन गरेर स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।”
भुषालले आगामी दस वर्षभित्र काम गर्ने उमेरका सबै नेपालीलाई रोजगारी दिलाउने, भ्रष्टाचाररहित सुशासनयुक्त राज्य निर्माण गर्ने र समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम अगाडि ल्याउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय समुदायसँग विश्वास पुनःस्थापना गर्न र नेपालको समृद्धि पक्षमा सहकार्य बढाउन संयुक्त अभियान सञ्चालन आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार मुलुकमा त्रासदीपूर्ण सम्भावना रोक्न वामपन्थी आन्दोलनका इमान्दार राजनीतिकर्मीहरुले तत्काल सक्रियता लिनुपर्छ । “सबैजसो नेताहरु पद र नियन्त्रण यथावत् राख्न बहाना गर्नेछन् तर समाजले अस्वीकृत नेतृत्व बोकेर पार्टीहरु जनतामा जान सक्दैनन्,” भुषालले चेतावनी दिए ।
उनले संविधान संशोधनको मुद्दा निर्वाचनअघि नै चर्कने, राष्ट्रवादको नाममा पुराना–नयाँ शक्तिहरु सक्रिय हुने र पपुलिष्ट तथा अराजकतावादी धार सडकमा देखिन सक्ने सम्भावनाबारे पनि सचेत गराए । त्यसैले, उनले सबै वामपन्थी पार्टीहरुलाई विचार, राजनीति र संगठनमा भएको भ्रष्टाचार स्वीकार गर्दै बृहत् ध्रुवीकरणमार्फत नयाँ एकताको अभियानमा उत्रिन आह्वान गरे ।