अझै बलियो छैन कांग्रेस, गठबन्धन अपरिहार्य छ : सभापति देउवा

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी अझै बलियो हुन नसकेको स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले दलहरूको वर्तमान कार्यशैलीप्रति टिप्पणी गर्दै लोकतान्त्रिक समाजवादलाई आत्मसात गरे पनि कांग्रेसले अपेक्षित बलियो हैसियत अझै हासिल गर्न नसकेको बताए ।

“नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टी लोकतान्त्रिक समाजवादीझैँ बनेका छन्,” देउवाले भने, “हामी पनि लोकतान्त्रिक समाजवादी पार्टी हौं तर अझै पूर्ण रूपमा बलियो बन्न सकेका छैनौं ।”

उनले वर्तमान संविधानलाई राम्रो भने पनि यो प्रणालीमा बहुमत ल्याउन कुनै न कुनै दलसँग गठबन्धन गर्नु अपरिहार्य रहेको बताए । “संविधान राम्रो छ, तर एक पार्टीको बहुमत ल्याउनु निकै कठिन छ । सम्झौताविहीन सत्ता सञ्चालन सम्भव छैन,” देउवाको भनाइ थियो ।

सभापति देउवाले संविधान संशोधनको आवश्यकता रहेको आवाजहरूलाई स्वाभाविक भने । “आज संविधान सबैको साझा दस्तावेज बनेको छ । तर आवश्यकता अनुसार संशोधन हुन सक्छ । त्यो अस्वाभाविक होइन,” उनले प्रष्ट पारे ।

स्व. दुण्डिराज शास्त्रीको ४५ दिनको पुण्यस्मृतिमा आयोजित कार्यक्रममा सभापति देउवाले स्व। शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनलाई सिद्धान्तमा अडिग, विद्वान् र सन्तुलित समाजवादका लागि संघर्षरत व्यक्तित्वको रूपमा स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व। शास्त्रीलाई नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा र समाजवादी चिन्तकको रूपमा स्मरण गर्दै उनको निधनले पार्टी र देश दुबैलाई अपूरणीय क्षति पुगेको बताए ।

“उहाँ सरल, सहज र सधैं सिद्धान्तप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । कहिलेकाहीं पार्टीभित्र विवाद भए पनि उहाँसँगको सम्बन्ध सधैं राम्रो रह्यो,” केसीले भने, “उहाँको निधनले हामी गहिरो शोकमा छौं ।”


प्रतिक्रिया