वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमै स्थापित गराइने : डा.उप्रेती

hitkhabar.com


काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई स्वदेशमै स्थापित गर्ने योजनामा बोर्ड सक्रिय रहेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट फर्किएकाहरुको सीपलाई प्रमाणिकरण गर्दै स्वदेशमा पुनःस्थापित गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले भने, “वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई आफ्नै पालिकामा स्थापित गर्ने, दोहोरो रूपमा विदेश जानु नपर्ने अवस्था बनाउन बोर्डले उद्यमशीलता तालिमको व्यवस्था गर्दै आएको छ ।”

उनका अनुसार, तालिम दिने, सीपको प्रमाणीकरण गर्ने र स्वरोजगारमा सहजीकरण गर्ने कार्य बोर्डमार्फत भइरहेका छन् ।

कार्यकारी निर्देशक उप्रेतीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूमाथि आउने संकट र आपतकालीन अवस्थाहरूमा उद्धार, राहत र पुनःस्थापना बोर्डको पहिलो प्राथमिकता भएको स्पष्ट पारे ।

“अप्रिय घटना—जस्तै घाइते, अपाङ्गता, मृत्यु, अलपत्र परेका, वा जेल परेका अवस्थामा उद्धार र सहयोग बोर्डको प्रमुख जिम्मेवारी हो,” उनले भने, “यस्ता कल्याणकारी गतिविधि नै बोर्डको सबैभन्दा महत्वपूर्ण कार्य हो ।”

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरूलाई लक्षित गर्दै बोर्डले सीपमूलक तालिम र डिजिटल सामग्री निर्माणमा पनि ध्यान दिइरहेको उनले बताए ।

उनले भने, “अब एपमार्फत नै पढ्न मिल्ने खालको डिजिटल पाठ्यक्रम निर्माण गर्ने तयारी भइरहेको छ, जसले गर्दा प्रवासमा जानुअघि नै आवश्यक सीप प्राप्त गर्न सकिन्छ। यसले अप्रिय घटनाहरू घटाउनेमा सहयोग पुर्‍याउनेछ ।”

कार्यक्रममा उप्रेतीले उक्त योजनाहरू कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गरिसकेको जानकारी समेत दिए ।


प्रतिक्रिया