जनकपुर । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले समय दिएर उनीहरुलाई बोल्न अनुमति दिएका थिए।
प्रमुख प्रतिपक्षका सांसदहरुले आर्थिक वर्ष २०८२/०८३ को बजेट विपक्षीलाई सहभागी नगराई बहुमतको भरमा पारित गरिएको भन्दै आपत्ति जनाए। उनीहरुले नाटकीय शैलीमा कार्यदल गठन गरी सरकारकै प्रतिनिधिलाई राखिएको, तर वास्तविक समस्या समाधान नगरी अल्पमत–बहुमतको खेल खेलिएको आरोप लगाएका छन्।
सांसदहरुले भने, “जब बजेट बहुमतकै बलमा पारित गर्न सकिन्छ भने, ऐन–कानुन बनाउन पनि हामीलाई किन चाहिन्छ?” उनीहरुले बजेटमा देखिएका अनियमितता, बिचौलियाको दबदबा, रेड बुकमा देखिएका गडबडी लगायतका विषय उठाउँदै समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन्।
यस्तै, यसअघि गठन गरिएको संसदीय छानबिन समितिको प्रतिवेदन अझै कार्यान्वयन नभएको विषयमा पनि प्रतिपक्षी सांसदहरुले सभामुखसँग प्रश्न उठाए।
लगातारको अवरोधपछि सभामुख मण्डलले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्। करिब एक महिनापछि बसेको प्रदेश सभा बैठक हिजो पनि जसपा नेपालसहित प्रमुख प्रतिपक्षी सांसदहरुले अर्थमन्त्रीको राजीनामा माग्दै अवरुद्ध गरेका थिए।