सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hitkhabar.com


जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादवसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हिनामिना, नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै इन्जिनियर यादव, तत्कालीन लेखापाल शिवकुमार झा र पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैतासँगै १४ लाख ७७ हजार ५ सय रुपैयाँ बिगो माग गरेको हो ।

त्यस्तै, वडा नं। ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजुकुमारी यादव, तत्कालीन प्रशासकीय अधिकृत स्व। बालवीर ठाकुरकी श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुरको नाममा पनि सोही रकम बराबर जरिवाना माग गरिएको छ ।

बाख्रा फार्मको नाममा अनुदान हिनामिना

२०७७र७८ मा विनियोजित कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गतको रकम बाख्रा फार्मको नाममा दर्ता गरी अनियमितता गरिएको अख्तियारको दाबी छ। बिना सार्वजनिक सूचना अर्चना सहकारी संस्था लिमिटेडसँग मिति २०७८ जेठ ५ गते सम्झौता गरिएको र वडाध्यक्षले झुटा बिल र माग फाराम तयार गरेर खसी, बोका, पाठी र डाले घाँस वितरण गरिएको देखिएको आयोगले जनाएको छ ।

राधा कृषि फार्मको बिल समेत झुटो

अर्चना सहकारी संस्थाले खरिद गरेको भनिएको पशु तथा डाले घाँस राधा कृषि फर्मबाट लिएको उल्लेख गरे पनि सम्बन्धित फर्मले त्यस किसिमको कुनै कारोबार नगरेको प्रमाण आन्तरिक राजस्व कार्यालय जनकपुरको पत्रबाट खुलेको छ ।

अख्तियारका अनुसार मिलेमतोमा झुट्टा विल, भरपाई र गलत कागजात तयार पारेर १४ लाख ७७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरिएको पुष्टि भएकाले सात जनामाथि भ्रष्टाचारको आरोपपत्र दायर गरिएको हो ।


प्रतिक्रिया