गणतन्त्र सही बाटोमा छ, अब प्रतिगमनको स्थान छैन : पूर्वराष्ट्रपति यादव

hitkhabar.com


काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देश गणतन्त्रको सही बाटोमा अघि बढिरहेको बताउँदै अब कुनै पनि प्रतिगमन नहोस् भन्नेमा सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’को कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको भए पनि कार्यान्वयनमा चुनौती रहेको उल्लेख गरे ।

उनले भने, “हामी ठिक मार्गमा छौं, तर शासन सञ्चालन गर्नेहरूले अब गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । नेपालले फेरि कुनै प्रतिगमन देख्नु नपरोस् भन्ने मेरो चाहना छ ।”

संघीयता, समावेशीता र समानुपातिक प्रणालीसहितको संविधान कार्यान्वयनका विषयहरूलाई सकारात्मक ढंगले अघि बढाउनु पर्नेमा पूर्वराष्ट्रपतिले जोड दिए । साथै, विगतको संघर्ष र परिवर्तनको इतिहास युवा पुस्ताले बुझ्न आवश्यक रहेको पनि उनले स्मरण गराए ।

त्यस अवसरमा प्रा.डा. हरिप्रसाद पराजुलीद्वारा लिखित तथा सम्पादित ‘बिपी कोइरालाका दुर्लभ रचना’ र ‘बिपीका कथा र कथाकारिताको विश्लेषण र मूल्याङ्कन’ शीर्षकका दुई पुस्तक विमोचन गरियो ।

कार्यक्रममा डा. यादवले बिपी कोइरालालाई लिएर भइरहेका प्रचारहरूमा प्रष्ट पार्दै भने, “बिपी कोइराला राजावादी होइनन् । उहाँ गान्धीवादी, समाजवादी र प्रजातन्त्रवादी हुनुहुन्थ्यो। वीरगञ्ज अधिवेशनमै उहाँले समयअनुसारको रणनीतिको रूपमा राजसंस्थासँग मेलमिलाप गर्नुपर्ने बाध्यता भएको बताउनुभएको थियो ।”

उनले थपे, “बिपीलाई १५ वर्ष सरकार चलाउन दिइएको भए, नेपाल आजको जस्तो हुने थिएन । उहाँको सपना थियो— दुईतिहाइ बहुमत लिएर राष्ट्र बनाउने ।”

डा. यादवले बिपीलाई बहुआयामिक व्यक्तित्वको रूपमा स्मरण गरे । उनका अनुसार बिपीले नेपाली, हिन्दी र अंग्रेजी तीनै भाषामा साहित्य लेखन गर्नुभएको थियो। “बिपी २५ वर्ष भारतमा बस्नुभयो र दक्षिण एशियाकै प्रभावशाली नेताका रूपमा चिनिनुभयो,” यादवले भने ।

कार्यक्रममा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, कांग्रेस केन्द्रीय सदस्य किरण यादव, ट्रस्ट बोर्ड सदस्य डा. ज्ञानु पाण्डे लगायतले बिपी कोइरालाको योगदान र व्यक्तित्वबारे धारणा राखे ।

डा. यादवले बिपीको राजनीतिक चिन्तन, साहित्यिक योगदान र राष्ट्रप्रति समर्पणलाई आजको पुस्ताले गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया