शिक्षा विधेयकविरुद्ध जनकपुरधाममा निजी विद्यालयहरुको बस र्‍याली

hitkhabar.com


जनकपुरधाम । शिक्षा विधेयकविरुद्ध जनकपुरधामका निजी विद्यालयहरुले शुक्रबार बस र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकले निजी विद्यालयहरुप्रति अन्याय गरेको भन्दै विद्यालय सञ्चालकहरुले आ–आफ्ना विद्यालयका बससहित रामानन्द चोकबाट नगर परिक्रमा गरेका हुन् ।

प्याब्सन जनकपुरधाम नगर अध्यक्ष रविन्द्र चौधरीले शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत राखिएको र पूर्ण छात्रवृत्ति अनिवार्य गरिएको व्यवस्थालाई अस्वीकार्य बताउँदै विरोधमा उत्रिनु परेको स्पष्ट पारे ।

उनले भने, “निजी विद्यालयलाई समाप्त पार्ने हिसाबले ल्याइएको विधेयकलाई हामी मान्दैनौं । कम्पनी ऐनमा राखेर अन्याय गरिएको छ, त्यसैले हाम्रो आन्दोलन जारी रहनेछ ।”

बस र्‍यालीमा प्याब्सन, एनप्याब्सन र हिसानमा आवद्ध विद्यालय सञ्चालकहरुको उपस्थिति थियो । उनीहरुले विधेयकबाट कम्पनी ऐन र पूर्ण छात्रवृत्ति सम्बन्धी प्रावधान हटाइएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया