काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका खेलेका दलहरू नै राज्यसत्तामा पुगेपछि आफ्नै क्रान्तिकारी छवि जोगाउन नसक्दा असफल भएको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दल—कांग्रेस, एमाले र माओवादी—आफ्नो समयका परिवर्तनकारी दल भएर पनि अन्ततः भ्रष्टाचार र यथास्थितिवादमा फसिएको दाबी गरे।
नेता शर्माले भने, “कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए । तर, राज्यसत्तामा पुगेपछि क्रान्तिकारी छवि जोगाउन नसक्दा असफल भए । फलस्वरूप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्यो ।”
उनले दलहरूले नातावाद, कृपावाद, दण्डहिनता र राजनीतिक हस्तक्षेपका कारण राज्यका संस्थागत संरचना नै कमजोर भएको जिकिर गरे। संविधानसभामार्फत संविधान लेख्ने ऐतिहासिक अवसरलाई समेत दलहरूले दलगत स्वार्थमा परेर गुमाएको आरोप उनको थियो।
उनका अनुसार, “संविधान सभाबाट संविधान लेख्ने अवसरलाई दलगत दाउपेचको विषय बनाइयो, जसले क्रान्ति र आन्दोलनले दिएको म्यान्डेट सम्बोधन हुन पाएन ।”
शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी भने परिणाममुखी शासन र उदाहरणीय राजनीतिक व्यवहारका साथ अघि बढ्ने दाबी गरे।