नेकपा (एस) सानो होइन, निर्णायक शक्ति हो : अध्यक्ष नेपाल

hitkhabar.com


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी सानो नभई शक्तिशाली र निर्णायक शक्ति भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सातवटै प्रदेशमध्ये तीन प्रदेशमा पार्टीले मुख्यमन्त्री बनाएको उल्लेख गर्दै आफूहरू निर्णायक शक्ति भएको दाबी गरे।

“पार्टी सानो छ भनेर कस्तो शब्द प्रयोग गरियो भन्ने लाग्छ,” अध्यक्ष नेपालले भने, “यदि हामी सानो हौं भने एउटा मात्रै सांसद, प्रदेश सदस्य, मेयर वा वडा अध्यक्ष जितेको पार्टीलाई त महासानो भन्नुपर्‍यो। हामीले बागमतीमा, कोशीमा र सुदूरपश्चिममा मुख्यमन्त्री बनाएका छौं।”

उनले पार्टीसँग हैसियत र शक्ति नभएको भए यस्तो सम्भव नहुने स्पष्ट पारे। “हाम्रो शक्ति थियो, त्यसैले हामीले मन्त्री बनायौं, मुख्यमन्त्री बनायौं। निर्णायक भूमिका खेलेका छौं,” उनले भने।

पार्टी सिद्धियो भन्ने हल्लाप्रति टिप्पणी गर्दै अध्यक्ष नेपालले कार्यकर्तालाई त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरे। “बजारमा जसले जे भने पनि कागले कान लग्यो भनेर कागको पछि नलाग्नु, पहिले आफ्नै कान छाम्नु,” उनले भने, “पार्टीका गतिविधिहरुले नै यसको शक्ति देखाइरहेको छ।”

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि पार्टीलाई देखावटी कार्य होइन, संगठनात्मक मजबुतीमा लगानी गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया