काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको अवाजा प्रस्थान गर्न लागेका हुन् ।
सो अन्तर्राष्ट्रिय सम्मेलन आगामी साउन २० गते (अगस्ट ५) देखि साउन २३ गते (अगस्ट ८) सम्म तुर्कमेनिस्तानको अवाजामा हुने जनाइएको छ । प्रधानमन्त्री ओलीलाई सो सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त रूपमा निमन्त्रणा गरेका हुन् ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरो (UNOHRLLS) को अध्यक्षको हैसियत र नेपालको तर्फबाट राष्ट्रिय सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली अगस्ट ८ मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।