राजनीतिक संस्कारमा देश निर्माणको सम्भावना खोजिरहेका छौं : सांसद ढकाल

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले देश निर्माणको सम्भावना राजनीतिक संस्कारभित्र रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले संविधानका पवित्र शब्दहरू र तिनका मर्मअनुसार लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो दल दृढ रहेको स्पष्ट पारे।


उनले भने, “हामी संस्कारमा सम्भावना खोजिरहेका छौं। राजनीतिक संस्कारमार्फत यो देश निर्माणको सम्भावना खोजिरहेका छौं। संविधानका ति पवित्र शब्दहरू र मर्मअनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र बनाउन हाम्रो दल प्रतिबद्ध छ।”

ढकालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र भ्रष्टाचारविरुद्ध रास्वपा निरन्तर आन्दोलित रहेको स्मरण गराउँदै सत्ता पक्षले गम्भीर विषयलाई बेवास्ता गरेको आरोप लगाए। उनका अनुसार, विपक्षी दलले उठाएका मुद्दामा सुनुवाइ गर्नुभन्दा सत्तापक्षले ९५ दिनसम्म प्रतिवादमै समय खर्च गरिरहेको छ।

सांसद ढकालले विरोधका आवाजलाई दमन गर्ने शैली र चरित्र लोकतन्त्रको हितमा नहुने भन्दै टिप्पणी गरे। उनले भने, “हामी विगत ९५ दिनदेखि आन्दोलनरत छौं। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र भ्रष्टाचारविरुद्ध बोल्दा सत्तापक्षले प्रतिवाद मात्र गरिरहेको छ। सदनभित्र नसकेपछि हाम्रा नेताहरूको डिपफेक भ्वाइस रेकर्डसम्म छरपस्ट पारिएको छ। यो शैली, यो चरित्रको म निन्दा गर्न चाहन्छु। विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो बन्न सक्दैन।”

प्रतिक्रिया