तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद भवनको निरीक्षण

hitkhabar.com


काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको संसद भवनको अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार संयुक्त रूपमा निरीक्षण गरेका छन्।

निरीक्षणपछि मन्त्री घिसिङले संसद भवनका जलेका र भत्किएका संरचनालाई सबै मिलेर पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए। उनले विदेशी सहयोगभन्दा पनि स्वदेशी स्रोतबाटै पुनःस्थापना सम्भव हुने विश्वास व्यक्त गरे।

मन्त्री घिसिङले भने, “हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुपर्छ। यसका लागि हामीले कोष बनाएका छौं, जसमा नेपालभित्र र विदेशमा रहेका नेपालीले योगदान गर्न सक्नेछन्।”

अर्थमन्त्री खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै तत्कालीन प्राथमिकता संरचना पुनर्निर्माण गर्ने रहेको बताए। उनका अनुसार क्षतिको पूर्ण विवरण अझै स्पष्ट नभएकाले त्यसको अनुमान गर्न समिति गठन गर्ने तयारी गरिएको छ।

खनालले भने, “पहिलो प्राथमिकता अहिलेका सबै संरचना पुनर्निर्माण गर्ने हो। क्षति यति भयो भनेर भन्न सकिने अवस्था छैन, त्यसका लागि समिति गठन हुँदैछ।”

यसबीच गृहमन्त्री अर्यालले संसद भवनको पुनर्निर्माण मात्र नभई सुरक्षात्मक व्यवस्थामा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया