तराईसँग १ घण्टामै जोडिने द्रूतमार्ग: खोकना–डुकुछाप खण्डको समस्या समाधानमा सरकार गम्भीर

hitkhabar.com


काठमाडौं । काठमाडौं–तराई/मधेश द्रूतमार्ग (एक्सप्रेसवे) निर्माणका क्रममा खोकना–डुकुछाप खण्डमा देखिएको समस्याबारे सरकारले गम्भीर ध्यान दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त खण्डको निर्माणमा उत्पन्न समस्या समाधानका लागि  वैकल्पिक उपाय खोजिरहेको बताएका छन् ।

 प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा द्रूतमार्गलाई “रणनीतिक महत्त्वको राष्ट्रिय आयोजना” भन्दै यसले राजधानी काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने बताए । नेपाली सेनाले निर्माण गरिरहेको सो द्रूतमार्गमा खोकना क्षेत्रको काम सकिएपछि राजधानी सिधै तराईसँग जोडिने भएकाले यो खण्ड अति संवेदनशील रहेको ओलीले प्रस्ट पारेका छन् ।

“द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो,” ओलीले बताएका छन्, “वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ । सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु ।”

 प्रधानमन्त्री ओलीले समय अभाव भएको भन्दै निर्माण कार्यमा ढिलाइ सह्य नहुने चेतावनीसमेत दिएका छन् । “हामीसँग धेरै समय छैन,” उनले भनेका छन्, “निर्माण कार्य तीव्र गतिमा अघि बढाउनु जरुरी छ ।”

द्रूतमार्गको कुल लम्बाइ ७६.२ किलोमिटर रहेको छ । यो मार्गले काठमाडौंको खोकनादेखि मकवानपुरको डुकुछाप हुँदै निजगढ (बारा) सम्म जोड्नेछ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले सन् २०१७ देखि निर्माण कार्य अघि बढाइरहेको छ ।


प्रतिक्रिया