काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
गृहमन्त्रीले सार्वजनिक गरेको जानकारीअनुसार सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिना भएको प्रकरणमा संलग्न मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याइएको हो।
गृहमन्त्रीले करिब ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताहरूले भोग्नुपरेको पीडाबारे जानकारी पाएको उल्लेख गरेका छन्।
उनले अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका प्रयासहरूमा तत्कालै केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजी तीव्र पारिएको बताएका छन्।
मुख्य योजनाकारलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भएको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगी प्रकरणमा संलग्न अन्य दोषीहरूको समेत खोजी तथा कारबाही प्रक्रिया क्रमशः तीव्र बनाइने जानकारी दिएका छन्।
उनले बराह सहकारीका पीडित बचतकर्तालाई न्याय दिलाउने अभियानमा यो महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।