दुबईमा गृहमन्त्री सुधन गुरुङको उच्चस्तरीय भेटवार्ता, सुरक्षा र लगानी सहकार्यबारे छलफल

hitkhabar.com


काठमाडौं । दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी शिखर सम्मेलन (World Police Summit 2026) मा सहभागी हुने क्रममा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ।

शिखर सम्मेलनका अवसरमा उहाँले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तूम र उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायद अल नहयानसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो।

भेटका क्रममा नेपाल र यूएईबीचको मैत्रीपूर्ण सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

त्यसैगरी, गृहमन्त्री गुरुङले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग पनि भेटवार्ता गर्नुभएको छ। उक्त भेटमा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न आयामबारे विस्तृत छलफल भएको जनाइएको छ।

भेटका क्रममा बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी, कृषि तथा सेवा क्षेत्रको विकासका साथै ‘फेसलेस पुलिसिङ’ (Faceless Policing) र ‘नन-लेथल सेक्युरिटी गियर्स’ (Non-lethal Security Gears) को उत्पादनमार्फत सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउने सम्भावनाबारे प्रस्ताव प्रस्तुत गरिएको थियो।

प्रस्तावप्रति यूएईका मन्त्रीले सकारात्मक चासो व्यक्त गर्दै सहकार्यका लागि तत्परता जनाउनुभएको जनाइएको छ।

बदलिँदो सुरक्षा परिवेश र नवीन सुरक्षा चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नेपालले सुरक्षित समाज निर्माण तथा आन्तरिक सुरक्षा सुदृढीकरणका लागि यूएईलगायत अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया