काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेपछि सक्रिय राजनीतिमा खासै नदेखिएकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा काठमाडौंको मेयर पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन् ।
उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
श्रेष्ठ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकी थिइन् । उनले त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
रास्वपाको सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठले पछि पार्टी परित्याग गरेकी थिइन् । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा सरकार गठन हुने क्रममा पनि उनी सक्रिय देखिएकी थिइन् । कार्कीले प्रधानमन्त्री पदको शपथ लिँदा श्रेष्ठ पनि समारोहमा सहभागी भएकी थिइन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेसँगै श्रेष्ठको आगामी राजनीतिक यात्राबारे चासो बढेको छ ।