काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूराना राजनीतिक दलहरू असक्षम र निष्क्रिय भएको भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरूले समाजलाई केही दिन सक्दैनन् भन्ने नकारात्मक र भ्रामक प्रचार भइरहेको भन्दै त्यसलाई तोड्नुपर्नेमा जोड दिए ।
देउवाले भने, “पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन् । तर हामीले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ शक्तिशाली र क्रियाशील बन्नु जरुरी छ ।”
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै शुभेच्छुक, कार्यकर्ता र नेतृत्वलाई क्रियाशील र गतिशील बनाउनुपर्ने उल्लेख गरे। साथै, कांग्रेसभित्र वृहत् एकता कायम गरी २०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर स्थिर सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले तीज पर्वलाई साझा संस्कृतिको फूलबारीको रुपमा व्याख्या गर्दै यसले महिला सहभागिता, समानता र आपसी सद्भावलाई बलियो बनाउने धारणा राखे ।