काठमाडौं । विश्वविद्यालयहरूले परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्र अनिवार्य रूपमा ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएका छन्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि देशभरका विश्वविद्यालयका उपकुलपतिहरूबीच यस विषयमा सहमति बनेको हो । सहमतिअनुसार नतिजा प्रकाशन भएको बढीमा १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट प्रदान गर्नुपर्ने व्यवस्था लागू गरिनेछ ।
त्यसैगरी, शैक्षिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टलाई डिजिटल प्रणालीमार्फत उपलब्ध गराउने तयारी पनि अघि बढाइएको छ । यसका लागि विश्वविद्यालयहरूले १५ दिनभित्र आवश्यक मोबाइल एप वा अनलाइन पोर्टल विकास गरी ‘नागरिक एप’सँग जोड्ने निर्णय गरेका छन् ।
परीक्षा नतिजा प्रणालीलाई अझ पारदर्शी, छिटो र अनुमानयोग्य बनाउन छुट्टै ‘नतिजा पोर्टल’ निर्माण गरिने भएको छ । यसले परीक्षा व्यवस्थापनलाई आधुनिक र समयमै सेवा दिने प्रणालीतर्फ लैजाने अपेक्षा गरिएको छ ।