काठमाडौं । सरकारले आइतबार र सोमबार (वैशाख ६–७) देशभरका बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत दुई दिनसम्म यो कार्यक्रम सञ्चालन गरिएको हो।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ। यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ।
कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले बालबालिकाको आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र समग्र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। जुकाको औषधिले पेटका किरा नष्ट गर्नुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखालाजस्ता समस्याबाट बचाउन सहयोग गर्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्तार गरिएको थियो। त्यस्तै, जुकाविरुद्धको औषधि वितरण कार्यक्रम २०५६ सालमा सुरु भई २०६७ सालदेखि सबै जिल्लामा लागू गरिएको हो। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा यी औषधि निःशुल्क रूपमा वितरण गर्दै आएको छ।