नेपाल–भारत स्वास्थ्य सहकार्य थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल

hitkhabar.com


काठमाडौँ ।  स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत महामहिम नवीन श्रीवास्तव (H.E. Naveen Srivastava) बीच मन्त्रालयमा सौहार्दपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

सो अवसरमा नेपाल र भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि गहन विचार–विमर्श भएको थियो। भेटका क्रममा महामहिम राजदूतले माननीय मन्त्रीज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो भने माननीय मन्त्रीज्यूले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो।

यस महत्त्वपूर्ण भेटवार्तामा नेपालका राष्ट्रिय स्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया