वडाबाट केन्द्रमा आएका फाइल एक साताभित्र टुंग्याउन महानगरको निर्देशन

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल सात दिनभित्र निर्णय गरिसक्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। उनले बजेट सक्ने उद्देश्यभन्दा गुणस्तरीय कामलाई प्राथमिकता दिन वडा कार्यालयहरूलाई आग्रह गरेका हुन्।

महानगरपालिकामा आयोजित पाक्षिक समीक्षा बैठकमा विभागीय प्रमुख तथा वडा सचिवहरूसँग छलफल गर्दै कार्यवाहक प्रमुख डंगोलले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र जनमैत्री बनाउन निर्देशन दिएका हुन्। बैठकमा वडास्तरमा देखिएका समस्या, कार्यान्वयनमा आएका चुनौती तथा समाधानका उपायबारे समेत विस्तृत छलफल गरिएको थियो।

महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक वडास्तरीय विकास कार्यक्रमका लागि वडाको वर्गीकरणअनुसार बजेट विनियोजन गरेको जनाएको छ। जसअनुसार ठूला वडालाई १० करोड रुपैयाँ, मझौला वडालाई ७ करोड ५० लाख रुपैयाँ र साना वडालाई ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत रकम पूर्वाधार तथा अन्य क्षेत्रगत विकास कार्यक्रममा खर्च गर्न सकिने व्यवस्था गरिएको महानगरले जनाएको छ। साथै थप पूर्वाधार विकासका लागि ठूला वडालाई ७ करोड, मझौला वडालाई ५ करोड र साना वडालाई ३ करोड रुपैयाँ अतिरिक्त बजेट समेत छुट्याइएको छ।

त्यसैगरी सामाजिक कार्यअन्तर्गत खेलकुद, जनचेतना, सार्वजनिक सुनुवाइ, सरसफाइ, जात्रा–पर्व सञ्चालन, स्वास्थ्य तथा शिक्षा सचेतना कार्यक्रम, सिथि नखः तथा विशेष सरसफाइ कार्यक्रमका लागि समेत वडाको आकारअनुसार छुट्टाछुट्टै बजेट पठाइने व्यवस्था गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले विकास निर्माणका काम समयमै सम्पन्न गर्दै पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम गर्न सबै वडा तथा विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया