काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै आवश्यक परे स्वास्थ्य परीक्षण गराउन माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका क्रममा प्रधानमन्त्री अचानक बैठक छोडेर बाहिरिएको घटनालाई अस्वाभाविक भएको बताए।
उनले प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण बाहिरिएको भए तत्काल स्वास्थ्य परीक्षण गरी त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने धारणा राखे। साथै, संसद् चलिरहेका बेला प्रधानमन्त्रीको यस्तो व्यवहारले संसद्को गरिमा र मर्यादामाथि प्रश्न उठेको टिप्पणी गरे।
आङ्देम्बेले प्रधानमन्त्रीको गतिविधिबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेका छन्।
12 May 2026