काठमाडौं । छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि नेपालसहित एसियाका विभिन्न मुलुकहरूले सतर्कता अपनाएका छन् । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका स्थलसीमामा यात्रुहरूको स्वास्थ्य जाँच कडा बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हवाई तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको निगरानी तीव्र पारिएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कहरूलाई पूर्णरूपमा सक्रिय बनाइँदै निपाह भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका यात्रुहरूको तत्काल पहिचान गर्ने व्यवस्था गरिएको छ ।
पश्चिम बंगालमा यस महिनाको सुरुआतमा पाँचजना स्वास्थ्यकर्मी निपाह भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टिनमा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । संक्रमणको फैलावट रोक्न त्यहाँ उच्च सतर्कता अपनाइएको छ ।
मन्त्रालयका अनुसार नेपाल प्रवेश गर्ने यात्रुहरूमा ज्वरो, टाउको दुःखाइ, श्वासप्रश्वासमा समस्या, बान्ता तथा बेहोस हुनेजस्ता लक्षण देखिएमा तत्काल आइसोलेसनमा राखी थप परीक्षण गरिनेछ । शंकास्पद केस देखिएमा आवश्यक स्वास्थ्य प्रोटोकलअनुसार उपचार र व्यवस्थापन गरिने जनाइएको छ ।
स्वास्थ्य विज्ञहरूले निपाह भाइरस अत्यन्तै संक्रामक र घातक हुनसक्ने भएकाले आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । अनावश्यक यात्रा नगर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले पूर्वतयारी र निगरानीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
कोरोना भाइरसभन्दा पनि बढी घातक
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस कोरोना भाइरसभन्दा पनि बढी घातक मानिन्छ । यस भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म हुनसक्ने बताइएको छ । निपाह भाइरस मुख्यतया संक्रमित चमेरो र सुँगुरबाट मानिसमा सर्ने गर्छ । चमेरोले जुठो हालेका फलफूल, दूषित खाना, वा संक्रमित जनावरको मासु सेवन गर्दा मानिसमा संक्रमण फैलिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । साथै, संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट पनि भाइरस सर्ने जोखिम रहन्छ ।
निपाह भाइरस पहिलोपटक सन् १९९८ मा मलेसियामा पहिचान गरिएको थियो । त्यसयता भारत, बंगलादेश र फिलिपिन्सलगायत देशहरूमा समय-समयमा यसको प्रकोप देखिँदै आएको छ । यो भाइरसले मुख्यतया श्वासप्रश्वास प्रणाली र स्नायु प्रणालीमा गम्भीर असर पुर्याउने गर्दछ । संक्रमण गम्भीर बनेमा इन्सेफ्लाइटिस (मस्तिष्कको सूजन) समेत हुनसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सतर्क रहन, अनावश्यक सीमा आवतजावत नगर्न, र कुनै पनि शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ ।
के हो निपाह भाइरस ?
निपाह भाइरस एक जुनोटिक भाइरस हो, अर्थात् जनावरबाट मानिसमा सर्छ । विशेषगरी ‘फ्रुट ब्याट’ भनिने फलफूल खाने चमेरो यसको प्राकृतिक स्रोत मानिन्छ । चमेरोबाट बंगुरमा र बंगुरको सम्पर्कमा आएका मानिसमा यो भाइरस सर्ने गरेको पाइएको छ । पछिल्ला अध्ययनहरूले मानिसबाट मानिसमा पनि सजिलै सर्ने पुष्टि गरेका छन् ।
नेपालमा पनि सूक्ष्म अध्ययन र पूर्वतयारी अत्यावश्यक : डा. पुन
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरसले मानिसमा गम्भीर संक्रमण गराउँछ र मृत्युदर अत्यन्त उच्च हुन्छ । ‘संक्रमण पुष्टि भएका व्यक्तिको नजिकको सम्पर्क, सँगै बस्दा वा खाँदा भाइरस सजिलै सर्नसक्छ’, उहाँ भन्नुहुन्छ । उहाँका अनुसार निपाह भाइरसको संक्रमणपछि सामान्यतया चारदेखि १४ दिनभित्र लक्षण देखिन्छ, तर केही अवस्थामा ४५ दिनसम्म पनि लक्षण नदेखिन सक्छ ।
डा. पुनले यसका प्रारम्भिक लक्षणमा अचानक उच्च ज्वरो, गम्भीर टाउको दुःखाइ, मांसपेशी दुःखाइ, अत्यधिक थकान, सास फेर्न गाह्रो हुनु, असामान्य निद्रा, झुक्किने वा भ्रमित हुने बताउनुहुन्छ ।
उहाँका अनुसार संक्रमण बढ्दै जाँदा मस्तिष्कमा असर पुगेर इन्सेफलाइटिस, कोमा र मृत्युसमेत हुनसक्छ । अध्ययनअनुसार संक्रमित १० जनामध्ये चारदेखि सात जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म निपाह भाइरसविरुद्ध कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन । उपचार लक्षण नियन्त्रण र सघन हेरचाहमा सीमित छ । केही अवस्थामा रिबाभिरिन प्रयोग गरिए पनि यसको प्रभावकारिता पूर्णरूपमा पुष्टि भइसकेको छैन ।
नेपाल किन जोखिममा ?
सन् २००१ यता बंगलादेश र भारतमा निपाह भाइरसको प्रकोप दोहोरिँदै आएको छ । हालै भारतको पश्चिम बंगाल (कोलकाता) क्षेत्रमा ‘आउटब्रेक’ देखिएपछि नेपाल पनि उच्च जोखिममा परेको विज्ञहरूको भनाइ छ । नेपाल–भारत खुला सीमा, नेपालमै पाइने भाइरस सार्ने प्रजातिका चमेरा र व्यावसायिक रूपमा बंगुरपालन भइरहेकाले जोखिम बढेको डा. पुन बताउनुहुन्छ । ‘नेपालमा पनि सूक्ष्म अध्ययन र पूर्वतयारी अत्यावश्यक छ’, उहाँ भन्नुहुन्छ । रोजगारीको सिलसिलामा धेरैजना युवाहरू पश्चिम बंगालमा रहेका छन् ।
हालसम्म नेपालमा निपाह भाइरस पुष्टि भएको छैन : डा. बुढाथोकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म नेपालमा निपाह भाइरस पुष्टि भएको छैन । तर, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा हेल्थ डेस्क, हवाई तथा स्थलमार्गबाट आउने यात्रुको निगरानी र शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । ‘केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरिसकेपछि हामीले हाम्रा सम्पूर्ण हवाई एवं थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूलाई पनि निगरानी गर्न सुरु गरेका छौँ । त्यसैगरी हामीसँग थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणको लक्षण भएका बिरामीहरूलाई निगरानीमा राख्ने काम गर्नुभएको छ’, उहाँले भन्नुभयो । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिनुभयो । ‘त्यस्ता व्यक्तिहरू नेपालभित्र आए भने उनीहरूको उपचार गर्नको लागि हामीले अस्पतालहरू समेत तोकेका छौँ । यो संक्रमण सार्ने माध्यम भनेको चमेरो र सुँगुर हो । कि चाहिँ संक्रमित व्यक्ति हो’, उहाँले भन्नुभयो, ‘त्यसकारण यी तीन चिजहरूलाई मध्यनजर गरेर आमनेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसहरूलाई केही समय क्वारेन्टिनमा रहने र उहाँहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’
मन्त्रालयले निपाह भाइरसको विषयमा अनावश्यक डर फैलाउनुभन्दा सचेत रहन नागरिकलाई आग्रह गरेको छ । हालसम्म नेपालमा यो भाइरस पुष्टि नभएको जनाउँदै सरकारले निगरानी र तयारीलाई निरन्तरता दिएको बताएको छ ।
सीमा नाकामा बढाइयो निगरानी
मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोसी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भिडभाड हुने प्रवेश बिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता-व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.यदुचन्द्र घिमिरेले जानकारी गराउनुभयो । ‘प्रारम्भमा चनाखो हुने हिसाबले नाका र अस्पतालहरूमा निगरानी बढाइएको हो’, उहाँले भन्नुभयो ।
स्वास्थ्य कार्यालय झापाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै सीमा स्वास्थ्य निगरानी प्रणालीलाई चुस्त राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले काँकडभिट्टा र भद्रपुर नाकालाई अलि बढी निगरानी गरिएको हो । यी दुवै नाकाहरू भारतको पश्चिम बंगालसँग सीमा जोडिन्छन् ।
नेपालमा अहिलेसम्म निपाह संक्रमण पुष्टि भएको छैन । सम्भावित नमुना परीक्षण भने काठमाडौंमा मात्र सम्भव भएकाले सीमा क्षेत्रमा सतर्कता नै सर्वोत्तम रोकथाम उपाय भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यो खबर हिमालय टाइम्सबाट लिएका हौ ।