पाँच बुँदे मागसहित कवाड व्यवसायी सडकमा

hitkhabar.com


काठमाडौं । कवाड व्यवसायी समाज नेपालले पाँच बुँदे मागसहित काठमाडौं महानगरविरुद्ध आन्दोलन सुरु गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन्।

व्यवसायीहरूको प्रमुख मागमा संविधानले दिएको पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने, व्यवसायी र मजदुरको सुरक्षा राज्यले ग्यारेन्टी गर्नुपर्ने तथा विगत दुई वर्षमा महानगरले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समावेश छन्।

कवाड व्यवसायी ओमप्रकाश सिंहले अब निर्णायक आन्दोलन हुने दाबी गर्दै भने, “अब हामी कि बालेनलाई बाध्य बनाउँछौं, कि गर्छौं, कि मर्छौं। हाम्रो आन्दोलन सफल भएरमात्र टुङ्गिनेछ।”

संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले मेयर बालेन साहले व्यवसायीलाई हटाउन १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए। उनले भने, “हामी कानुनसम्मत रूपमा कर तिरेर व्यवसाय गर्दै आएका हौं, तर बालेनले हाम्रो पेशा सकाएको छ। अब उनी र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउनेछौं।”

उनीहरूले मेयर र प्रहरी प्रमुखलाई सडकमा घिसार्ने चेतावनीसमेत दिएका छन्। यसैबीच कवाड व्यवसायी कृष्ण यादवले राज्यले आफ्नो ज्यान–धनको सुरक्षा दिनुपर्ने बताए।

प्रतिक्रिया